काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्दीप लामिछाने ओर्लिँदा विगतमा उनका फ्यानहरु कुरिरहेका हुन्थे । प्रतिक्रिया लिन सञ्चारकर्मीहरु पर्खाइमा हुन्थे ।लामिछानेका लागि विमानस्थलको विशिष्ट (भीआईपी) कक्षको गेट खुला हुन्थ्यो । उनी आउँदा भिडभाड हुनसक्ने भएकाले सुरक्षा व्यवस्थापनका लागि सिनियर प्रहरी अधिकृत नै खटाइन्थे ।
विमानस्थलमा भेटिने यात्रु उनीसँग सेल्फी खिच्न झुम्मिन्थे । तर, बिहीबार बिहान ११ बजे लामिछाने काठमाडौं अवतरण गर्दाको स्थिति भने भिन्न थियो । यसपटक विमानस्थलमा पक्राउ पूर्जी बोकेर प्रहरी टोली उनलाई कुरिरहेको थियो । लामिछाने सवार कतार एयरवेजको जहाज बिहान १० बजे काठमाडौं अतवरण गर्ने निर्धारित समय थियो । प्रतिकुल मौसमका कारण केही ढिलाइ हुँदा थप एक घन्टा लाग्यो ।
ओर्लिने वित्तिकै उनलाई नेपाल प्रहरीका जवानहरुले माइक्रोमा राखे । अरु बेला विशिष्ट व्यक्तिलाई यसरी भीआईपी कक्षतिर ल्याइन्थ्यो । यसपटक चाहिँ नाबालिग बलात्कारका आरोपीका रुपमा प्रहरीले लामिछानेलाई त्यो माइक्रो चढाएको थियो ।
प्रहरीसँग गाडीमा चढ्दा लामिछाने चुपचाप बसेका थिए । तर हत्कडी लागेपछि चाहिँ अध्याँरो मुख पार्दै असहज माने त्यहीँ उनलाई पक्राउ पूर्जी थमाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) श्यामलाल ज्ञवाली बताउँछन् ।
गाडीबाट ओर्लिएपछि उनी ‘अराइभल’को रिसेप्सनमा पुगे । त्यहाँ अध्यागमनको प्रक्रिया पूरा भएपछि प्रहरीले उनलाई हत्कडी लगाइदियो । कानून व्यवसायी सरोजकृष्ण घिमिरेले लामिछानेले आफैं आत्मसमर्पण गर्ने भन्दै विमानस्थलमा हत्कडी नलगाइदिन भनिएको बताएका थिए ।
तर जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराका अनुसार प्रहरीलाई त्यस्तो कुनै निवेदन आएको थिएन । ‘निवेदन आएपनि कानूनको नजरमा कोही भीआईपी वा प्रतिष्ठित व्यक्ति भन्ने हुँदैन,’ बोहोराले अनलाइनखबरसँग भने, ‘अरु अभियुक्त सरह नै लामिछानेलाई व्यवहार गरिन्छ ।’
प्रहरीसँग गाडीमा चढ्दा लामिछाने चुपचाप बसेका थिए । तर हत्कडी लागेपछि चाहिँ अध्याँरो मुख पार्दै असहज माने । बाहिर सञ्चारकर्मीहरु तस्वीर लिन बसेको देखेपछि कालो मास्क, कालो क्याप र सेतो ट्र्याकसुटमा रहेका उनले गोजीबाट रुमाल झिके । र, हत्कडी लुकाउने प्रयास गरे ।
प्रहरी वृत्त, गौशालाले उनीविरुद्ध नाबालिग बलात्कारसम्बन्धी किटानी जाहेरी दर्ता भएकाले पक्राउ गर्न सहजिकरण गरिदिन भन्दै पहिल्यै अध्यागमन विभागलाई पत्राचार गरिसकेको थियो । पत्रको बोधार्थ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयलाई दिइएको थियो । त्यही अनुसार विमानस्थलमा ओर्लिने वित्तिकै पक्राउ गर्न प्रहरी परिचालित थियो ।
फ्लोरिडामा लोकेट भएका थिए लामिछाने
लामिछानेविरुद्ध प्रहरी वृत्त, गौशालामा २१ भदौमा १७ वर्षकी किशोरीले जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् । नाबालिग बलात्कारको जाहेरी परेको दुई दिनपछि प्रहरीले पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको थियो । पक्राउ पूर्जी जारी भएपछि लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीको कप्तानबाट निलम्बन गर्यो ।
जुनसुकै बेला पक्राउ पर्नसक्ने चाल पाएपछि उनी अमेरिकाबाट फर्किएका हुन् । अहिले नफर्किएको भए पनि दुई साताभित्र डिपोर्ट भएर नेपाल आउँथे । – एनसीबी काठमाडौंका अधिकारी निलम्बित भएपछि लामिछानेले सामाजिक सञ्जाल ट्वीटरमा नेपालको कानून मान्ने र आफूमाथि लागेको अभियोगको सामना गर्ने भन्दै स्ट्याटस लेखे । उनले त्यसबेला जमैकामा चलिरहेको क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर केही दिनमै नेपाल फर्किन लागेको बताएका थिए ।
तर एक महिनासम्म उनी सम्पर्कविहीन रहे । झण्डै एक महिनापछि बिहीबार आत्मसमर्पण गर्न भन्दै लामिछाने कसरी काठमाडौं आइपुगे ? योबीच उनी कहाँ थिए ? अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार योबीचमा लामिछानेले अमेरिका पुगेको खुलेको छ । र, अनुसन्धान अधिकृतहरूका अनुसार इन्टरपोलका कारण नै लामिछाने नेपाल फर्किएका हुन् ।
पछिल्लो समय क्यानसँग पनि सम्पर्कबाहिर भएपछि नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मार्फत उनलाई नेपाल झिकाउने प्रक्रिया अघि बढाएको थियो । इन्टरपोलको नेश्नल कन्ट्रोल ब्यूरो (एनसीबी), काठमाडौंको अनुरोधमा इन्टरपोल हेडक्वार्टरले डिफ्यूजन नोटिस जारी गरेपछि १९५ देशका प्रहरीसमक्ष लामिछानेबारे सूचना पुगेको थियो ।
‘उनीसँग अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया लगायतका मुलुकको भिसा भएकाले त्यहाँ प्राथमिकता दिएर खोजी गर्न समन्वय गरेका थियौं’, एनसीबी काठमाडौंका एक अधिकृतले अनलाइनखबरसँग भने, ‘त्यसक्रममा अमेरिकाको फेडरल ब्युरो अफ इन्भेटिगेसन (एफबीआई) ले उनलाई लोकेट गरेको थियो ।’ उनका अनुसार नोटिस जारी हुने वित्तिकै उनी अमेरिका पुगेको सूचना आएको थियो ।
‘अमेरिकामा नाबालिग बलात्कार, चाइल्ड पोनोग्राफी जस्ता विषयलाई गम्भीररुपमा लिइँदो रहेछ, यहीसँग सम्बन्धित भएपछि एफबीआईले प्राथमिकता दिएर खोजी गरेको थियो’, ती अधिकृतले थपे, ‘एफबीआईले लामिछानेलाई फ्लोरिडास्थित एक होटलमा लोकेट गरिएको सूचना नेपाल प्रहरीलाई पठाएको थियो ।’
त्यहाँ एफबीआईले उनको गतिविधिबारे निगरानी बढाउन थालेपछि लामिछाने झस्किएका थिए । अनुसन्धान अधिकृतहरुका अनुसार डिफ्यूजन नोटिस जारी भएपछि अदालती प्रक्रिया पूरा गरेर उनलाई नेपाल ल्याउने प्रक्रिया अघि बढेको थियो ।
‘जुनसुकै बेला पक्राउ पर्नसक्ने चाल पाएपछि उनी अमेरिकाबाट फर्किएका हुन्’, इन्टरपोलका ती अधिकृत भन्छन्, ‘नफर्किएको भए उनी दुई साताभित्र डिपोर्ट भएर नेपाल आउँथे ।’ अनलाइनखबरमा प्रकाशित समाचारको अंश