तत्काल सरकारबाट नबाहिरिने रास्वपाको निर्णय

तत्काल सरकारबाट नबाहिरिने रास्वपाको निर्णय

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछोड्ने र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा आफ्नो कुरा राख्ने निर्णय गरेको छ । गृह मन्त्रालय नपाएको झोकमा सरकारबाट बाहिरिने चेतावनी दिइरहेका सभापति रवि लामिछानेलाई पार्टीका बहुमत सांसद र केन्द्रीय सदस्यले स्वीकारेनन् ।

केन्द्रीय समिति र संसदीय दलको बिहीबार बसेको संयुक्त बैठकमा अधिकांश नेताहरुले अहिले पर्ख र हेर को नीति लिनुपर्ने सुझाव दिएका छन् । ‘उच्चस्तरीय संयन्त्रको बैठक पर्खने र पर्ख र हेरको नीतिमा बस्छौं’ बैठकमा सहभागी एक सांसदले इकान्तिपुरसँग भने,’सरकारबाट तत्काल हटेमा कमजोरी र कच्चा व्यवहार हुन्छ भन्ने अधिकांशको धारणा आएको छ ।’

बैठकपछि रास्वपाका प्रवक्ता मुकुल ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले २ दिन पर्खन आग्रह गरेको जानकारी दिए ।’प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीले हाम्रा अध्यक्षलाई बैठक चलिरहेका बेला फोन गरेर समय माग्नु भएको छ’ ढकालले भने,’त्यसैले हामीले अहिले उहाँहरुले गर्नुहुन्छ हेर्छौं । २ दिनमा पनि केही गर्नु भएन भने हामी फेरि पार्टीको बैठक बसेर निर्णयमा पुग्छौं ।’

Europass CV in Nepal

रास्वपा अध्यक्ष लामिछानेले बिहीबार दिउँसो सामाजिक सन्जालमा आफू अभिमन्यू बनेर नबस्ने भन्दै सरकारबाट बाहिरिने चेतावनी दिएका थिए । उक्त चेतावनी दिएपछि उनले पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका थिए।

गृह मन्त्रालय नपाएकै अवस्थामा सरकारबाट बाहिरिइहाल्न नहुने भन्दै अधिकांसले सुझाव दिएपछि लामिछानेले सरकारबाट बाहिरिने निर्णय गर्न हिच्किचाएर मध्यमार्गी बाटो अनपाएका हुन् ।

प्रधानमन्त्री दाहालले गृह मन्त्रालयमा तत्काल रास्वपाको स्वार्थ बाझिने र मुद्दाको पूर्ण पाठ समेत आइनसकेको अवस्थामा फेरि लामिछानेलाई मन्त्री बनाउँदा राम्रो सन्देश नजाने भन्दै लामिछानेलाई मन्त्री नबनाउने अडान लिइरहेका छन् । तर, सत्ता गठबन्धनकै अर्को घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने गृह मन्त्रालय लामिछानेलाई दिन अदालतको फैसलाको पूर्णपाठ पर्खिनु आवश्यक नरहेको बताउँदै आएका छन् ।

बिहीबारै बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले तत्काल रास्वपालाई गृहमन्त्री नदिने अडान लिएको छ । रास्वपाका सभापति लामिछानेमाथि दोहोरो राहदानी राखेको आरोपसमेत छ । उनको नागरिकता सम्बन्धी मुद्दाको फैसलाको पूर्ण पाठ आइसकेको छैन भने उनको राहदानी मुद्दामा प्रहरीले अनुसन्धान समेत गरेको छैन । लामो समय अमेरिका बसेर नागरिकता समेत लिइसकेका लामिछानेले नेपाल फर्किएर पत्रकारिता गर्दै राजनीतिमा सामेल भएका हुन् । तर, उनले विदेशबाट फर्किएपछि नेपालको नागरिकता पुनः प्राप्तिमा प्रक्रिया पूरा नगरेका कारण उनको गृहमन्त्री र सांसद पद नै गुम्यो ।

सांसद पद गुमेपछि प्रक्रिया पुर्‍याएर उनले नेपाली नागरिकता लिएका छन् । तर उनको हैसियत गैरसांसदको छ । गैरसांसदकै हैसियतमा पनि रविले गृहमन्त्री बन्न जोडबल गरिरहेका छन् । उनको जोडबलमा प्रधानमन्त्री दाहालले सहयोग नगरेपछि लामिछाने सरकारबाटै हट्ने मनस्थितिमा पुगेका हुन् । तर बिहीबारको पार्टीको बैठकले लामिछानेको झोकलाई केही दिनका लागि शान्त पारिदिएको छ ।