बिजुली गाडीमा सिन्धुलीबाट काठमाडौं पुग्दा चार्जखर्च सात सय र फर्किंदा पाँच सय मात्र

बिजुली गाडीमा सिन्धुलीबाट काठमाडौं पुग्दा चार्जखर्च सात सय र फर्किंदा पाँच सय मात्र

सिन्धुली । पूर्वी तराईका जिल्लालाई छोटो दूरीमा काठमाडौंसँग जोड्ने राजमार्गमा विद्युतीय सवारीसाधन बढ्दै छन् । बीपी राजमार्गमा दैनिक चार हजारभन्दा बढी डिजेल र पेट्रोलबाट चल्ने गाडी गुड्छन् । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै विद्युतीय सवारीमा आकर्षण बढेको हो । यातायात व्यवसायीका अनुसार बिपी राजमार्गमा मात्रै दिगो कम्पनीले १० सिट क्षमताको ३० वटा र सुन्दर यातायात कम्पनीले १९ सिट क्षमताको दुई वटा विद्युतीय सवारी सञ्चालनमा ल्याएका छन् ।

सुरुमा खरिद गर्दा महँगो भए पनि सञ्चालन खर्च कम आउने यातायात व्यवसायी टंक कार्की बताउँछन् । दिगो कम्पनीबाट चाहना यातायात नाम दिएर उनले विद्युतीय सवारी सिन्धुली–काठमाडौं रुटमा सञ्चालन गर्दै आएका छन् । ‘सिन्धुलीबाट काठमाडौं पुग्दा १९ सिट क्षमताको सवारी चार्जमा लाग्ने सात सय रुपैयाँबाहेक केही खर्च हुँदैन,’ उनले भने, ‘फर्किंदा पाँच सय भए पुग्छ ।’ जबकि सोही दूरीमा डिजेल/पेट्रोलको सवारीमा कम्तीमा ६ हजार खर्च हुन्छ । तर, चार्जिङ स्टेसन कम रहेकामा उनले चिन्ता व्यक्त गरे ।

सदरमुकाम सिन्धुलीमाडी र बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिकाको रामटारमा मात्र चार्जिङ स्टेसन भएकाले यस्ता सवारी चार्ज गर्न समय लाग्छ । चाहना यातायातकै चालक सुवर्ण भुजेल पालो पाउँदा चार्ज गर्न आधा घण्टा समय लाग्ने बताउँछन् । ‘चार्जिङ स्टेसन कम हुँदा लाइन बस्नुपर्छ, कहिलेकाहीं एक घण्टा कुर्नुपर्छ,’ उनले भने । अन्य सवारीसाधनका तुलनामा टुटफुट कम हुने र इन्धन पनि नचाहिने हुँदा विद्युतीय गाडीमा व्यवसायी आकर्षित भइरहेको उनले बताए ।

Europass CV in Nepal

विद्युतीय सवारीसाधन मर्मतका लागि सामानहरू नआएको र बिग्रिए कम्पनीले नयाँ सामान नै हालिदिने भएकाले त्यसमा भने खर्च बढेको उनको भनाइ छ ।

व्यवसायीका अनुसार विद्युतीय सवारी हाल कालोपत्र सडकमा मात्रै सञ्चालनमा छन् । गाडी किन्दा कम्पनीले नै एउटा सानो चार्जर दिएकाले घरमा नै चार्ज गर्न मिल्ने अर्का व्यवसायी तारा दाहालले बताए । ‘बिपी राजमार्गको बीच–बीचमा अरू चार/पाँच वटा चार्जिङ स्टेसन भए धेरै सहज हुने थियो,’ उनले भने ।

सुनकोसी–५ रामटारमा एक वर्षदेखि चार्जिङ स्टेसन चलाइरहेका रामहरि पौडेलका अनुसार स्टेसनमा लगानी धेरै चाहिन्छ । विद्युत् नियमित नहुँदा ग्यासबाट जेनेरेटर चलाएर चार्ज गर्दा महँगो पर्न जाने उनको अनुभव छ । सवारी रिचार्ज गरेबापत प्रतियुनिट १५ रुपैयाँ लाग्छ, यो डिजेल/पेट्रोलभन्दा ९९ प्रतिशत कम खर्च हो । ५० युनिट चार्ज भए काठमाडौंसम्म पुग्न सकिने र फर्किंदा ४० युनिट खपत हुने पौडेलले बताए । एउटा सवारी चार्ज गर्न आधा घण्टा लाग्छ ।

रिचार्ज स्टेसनमा १२० किलोवाट क्षमताका चार्जर जडान गरे पनि ६० किलोवाट सञ्चालन गरी तीन वटा नोजलबाट एक पटकमा तीन वटासम्म सवारी रिचार्ज हुँदै आएका छन् । दिगो कम्पनीको ५० प्रतिशत अनुदानमा १७ लाख रुपैयाँ आफ्नो लगानीबाट स्टेसन तयार गरेको पौडेलले बताए ।

 

Europass CV in Nepal