यसपालि नेपालमा धेरै फल्यो आँप, दिनको २०० टन काठमाडौं भित्रिँदै, लोकल मालदह किलोको ९० रुपैयाँमै

यसपालि नेपालमा धेरै फल्यो आँप, दिनको २०० टन काठमाडौं भित्रिँदै, लोकल मालदह किलोको ९० रुपैयाँमै

काठमाडौं। फलफूलको राजा मानिने आँपको सिजन सुरु भएको छ। सिजनको सुरुआतमा भारतीय आँपहरु मात्र बजारमा पाइने भए पनि अहिले स्वदेशी आँप बजारमा भित्रिने क्रम बढेको छ।
आँपका लागि कहलिएका पूर्वी तराइका सिराहा, सप्तरी लगायत जिल्लाका विभिन्न स्थानमा उत्पादित आँप काठमाडौं उपत्यका लगायत देशका विभिन्न बजारमा पुग्न थालेको छ।

यससँगै नेपाली आँपका पारखीहरुले अत्याधिक रुचाउने मालदह ,दशहरी र कलकत्ते लगायतका नेपालमै फलेका आँप काठमाडौंको बजारमा पनि आउन सुरु भएको फलफूलका थोक व्यापारीहरुले जानकारी दिएका छन्। लोकल आँपहरुमा मालदह उपभोक्ताको सर्वाधिक रोजाइमा पर्दै आएको छ। दशहरी पनि लोकप्रिय जातको आँप हो।

नेपाली आँप बजारमा आउनुअघिसम्म भारतीय आँप मात्र हुँदा मूल्य पनि किलोकै २ सय रुपैयाँसम्म थियो। स्वदेशी आँप बजार आउन थालेपछि भने आपूर्ति बढेसँगै मूल्य पनि सस्तिन थालेको छ।

Europass CV in Nepal

विगतका वर्षहरुमा भारतीय आँपभन्दा स्वदेशीले आधा हाराहारी मात्र मूल्य पाउने गरेकोमा यसपालि भने नेपाली आँप पनि राम्रो मूल्यमा कारोबार भइरहेको व्यवसायीले बताएका छन्।

स्वदेशी आँपको बजारमा आपूर्ति बढ्न थालेपछि व्यापारीहरुले भारतबाट आयात घटाउने गरेका छन्। जेठ अन्तिमतिरबाट त अझ भारतीय आँपको आयात नै लगभग ठप्प हुन्छ।

अहिले स्वदेशी आँपले नै उपत्यकाको बजार माग धानिरहेको कुलेश्वर फलफूल बजारका अध्यक्ष अम्बर बानियाँ बताउँछन्। उनका अनुसार, स्वदेशी आँप अघिल्ला वर्षको भन्दा यसपालि बजारमा धेरै आएको छ। भारतीय आँप नगन्य मात्रामा रहेको छ।

‘यसपालि नेपाली आँप नै भरपुर आइरहेको छ बजारमा, उपत्यकामा दैनिक दुई सय टन आँप भित्रिँदै छ,’ बानियाँ भन्छन्, ‘यो वर्ष नेपालमा आँपको उत्पादन नै बढी भएको पाइएको छ। उत्पादित आँप बजारमा आउने परिमाण बढेको भए पनि खपतसमेत राम्रै भएकाले नबिकेर फाल्नुपर्ने अवस्था अहिलेसम्म चाहिँ आएको छैन।’

आँपको सिजनले गर्दा अन्य फलफूलको बिक्री भने निक्‍कै घटेको व्यापारीहरुले बताएका छन्।

उपभोक्ताले बढी खोज्ने मालदह आँप पनि यसपालि समयभन्दा पहिले नै बजारमा आएको छ। अन्य आँपहरु पनि ठुलो परिमाणमा आइरहेको बानियाँको भनाइ छ।

उत्पादन नै यसवर्ष अधिक रहे पनि थोक बजारमा नै नेपाली आँपले प्रतिकेजी ८० रुपैयाँदेखि ९० रुपैयाँसम्म मूल्य पाइरहेको छ। पोहोर थोक बजारमा सय रुपैयाँ किलोसम्म पुगेको थियो। उत्पादन नै बढेको वर्ष अब सिजन समेत सुरु भएसकेकाले आँपको मूल्य योभन्दा धेरै नबढ्ने बानियाँले दाबी गरे।

कुलेश्वर फलफूल बजारमा मात्र यतिबेला आँपको कारोबार दिनमा एक करोडभन्दा बढीको भइरहेको उनले जानकारी दिए। पोहोर दैनिक सर्वाधिक कारोबार रकम ८० लाखदेखि ९० लाख रुपैयाँसम्म मात्र पुगेको थियो । यसपालि बजारमा आएको नेपाली आँप विषादिरहित तरिकाले प्राकृतिक रुपमै पकाइएको पनि बानियाँले दाबी गरे।

Europass CV in Nepal