उहिले भारतलाई कसरी प्राप्त भएको थियो विश्वकप फुटबल खेल्ने अवसर ?

उहिले भारतलाई कसरी प्राप्त भएको थियो विश्वकप फुटबल खेल्ने अवसर ?

काठमाडौं । दक्षिण एसियाली फुटबलमा भारत शीर्ष स्थानमा छ । तर, भारतले पनि अहिलेसम्म विश्वकप फुटबल भने खेलेको छैन । भारतभन्दा तल्लो वरीयतामा रहेका नेपाललगायतका अन्य मुलुकले विश्वकप खेल्ने सपना कहिले पूरा हुने हो अझै अनिश्चित छ ।

तर, यहाँ विश्वका फुटबल महारथीहरुको चर्चाभन्दा पनि दक्षिण एसियाली मुलुक भारतले विश्वकप खेल्ने मौका पाएको प्रसंग प्रस्तुत गर्न चाहन्छौँ । भारतले विश्वकपमा सहभागिताको अवसर पाएर पनि खेल्न सकेन । यसो भनिरहँदा प्रश्न उठ्न सक्छ, किन खेल्न सकेन ?७२ वर्षअघि सन् १९५० मा ब्राजिलमा भएको विश्वकप फुटबलमा सहभागी हुने टिममध्ये भारत पनि एक थियो । तर, उक्त विश्वकपमा भारतले सहभागी हुन सकेन ।

कसरी प्राप्त भयो भारतलाई विश्वकपको अवसर

Europass CV in Nepal

विश्व युद्धका कारण सन् १९४२ र १९४६ को विश्वकप फुटबल आयोजना हुन सकेन । १२ वर्षपछि सन् १९५० मा विश्वकप फुटबल आयोजना हुने गइरहेको थियो । ब्राजिलमा हुन लागेको उक्त विश्वकपमा ३३ राष्ट्रले छनोट खेल खेल्न सहमति गरेका थिए ।

छनोट चरणको समूह १० मा भारतसँगै बर्मा (म्यानमार) र फिलिपिन्स थिए । तर, बर्मा र फिलिपिन्सले छनोट खेल नखेल्ने निर्णय लिँदै वाकओभर लिए । त्यससँगै भारत सीधै विश्वकपमा छनोट भयो ।विश्वकप खेल्ने भारतको सपना पूरा हुँदै थियो । तर भारतले विश्वकप खेलेन । उक्त विश्वकपमा भारत रहेको समूह ३ मा स्वीडेन, इटाली र पाराग्वे रहेका थिए ।

सीधै छनोट भएर पनि अन्तिम अवस्थामा भारतले विश्वकपबाट नाम फिर्ता लिएको विषयमा अहिलेसम्म स्पष्ट हुन सकेको छैन । विभिन्न रिपोर्टअनुसार विभिन्न तर्क गरिएको छ । यद्यपि, भारतीय फुटबल महासंघले भने टिम चयनमा भएको असहमति तथा अभ्यासका लागि पर्याप्त समय नभएकाले विश्वकपबाट नाम फिर्ता लिइएको बताएको छ । भारतले विश्वकपबाट नाम फिर्ता लिएको विषयले वर्षौंसम्म चर्चा पाएको थियो ।

भारतीय खेलाडीले नांगो खुट्टाले फुटबल खेल्न चाहेको तर त्यसमा फिफाले रोक लगाएकाले पनि भारतले विश्वकपमा सहभागी नहुने निर्णय लिएको बताइन्छ । सन् १९४८ मा सम्पन्न लण्डन ओलम्पिकमा भारतीय फुटबल टिमका खेलाडीले खाली खुट्टै खेलेका थिए ।

उक्त प्रतियोगितामा भारतीय टिमले फ्रान्स जस्तो बिलियो टिमलाई दबाबमा राख्न सफल भएको थियो । फ्रान्ससँग १ – २ गोलले भारत पराजित भएको थियो ।

भारतीय खेलाडीले खुट्टामा मोटी पट्टी बाँधेर फुटबल खेल्न चाहन्थे । यस्तो चलन सन् १९५४ सम्म विश्वका अन्य मुलुकमा पनि थियो ।

भारतीय टिमले विश्वकप नखेल्नुको पछाडि आर्थिक अवस्थालाई पनि मुख्य मान्ने गरिएको छ । यद्यपि, यही कारणले विश्वकपबाट नाम फिर्ता लिएको भन्ने किटान हुन सकेको छैन । ब्राजिलसम्म फुटबल खेल्न जान ठूलो खर्च आवश्यक थियो । तर उक्त खर्चसमेत विभिन्न क्षेत्रबाट जुट्ने भइसकेको थियो । भारतका तीन राज्यस्तरीय फुटबल संघले विश्वकपमा हुने खर्चका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका थिए ।

नोभी कपाडियाले लेखेको किताबमा मार्च र अप्रिलमा हुने प्रतियोगितामा ब्राजिलले भारतीय फुटबल संघलाई सम्पर्क गरेर टिमको खर्चको अधिकांश रकम आफूले व्यहोर्ने आवश्वासनसमेत दिएको उल्लेख छ ।

भारतले विश्वकप नखेल्नुमा जानकारीको अभावलाई पनि कारण मानिएको छ । त्यसबेला विश्वकप फुटबल खेल्ने खेलाडीलाई व्यवसायीक खेलाडीको पहिचान प्राप्त हुन्थ्यो । खेलाडीहरु व्यवसायीक हुनुको अर्थ हुन्थ्यो उनीहरुले ओलम्पिक र एसियाली खेलहरुमा सहभागी जनाउन पाउँदैन थिए । किन कि यी प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरु अमेच्यौर हुनु पथ्र्यो ।

यद्यपि, यस नियमबाट बच्न हंगेरी, रुस तथा अन्य सोशलिस्ट मुलुकहरुले विश्वकपमा सहभागी खेलाडीहरुलाई सेनाको सदस्य भएको बताउने गरेका थिए । सेनाको सदस्य व्यवसायीक खेलाडी नहुने उनीहरुको तर्क थियो ।

सम्भवत यस किसिमको जानकारी भारतीय फुटबल अधिकारीहरुलाई थाहा थिएन । जसका कारण एसियाली तथा ओलम्पिकमा सहभागिता जनाउनबाट रोक्ने डरले उनीहरुले विश्वकप फुटबलबाट नाम फिर्ता लिने निर्णय गरेको हुन सक्ने बताइन्छ । -बीबीसी

 

Europass CV in Nepal