मुख्य सामग्रीमा जानुहोस्
Sunday, 13 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
प्रवास

मैले हाम्रो टिम बसेको होटलतिर जाउँ भन्दा उनले मानिनन् : सन्दिप लामिछाने

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई सोमबार पहिलो पटक अदालत उपस्थित गराइयो। नाबालिका बलात्कारको उजुरी परेसँगै प्रहरीले उनलाई पक्राउ पुर्जी जारी गरे पनि करिब एक महिनापछि सन्दीप गत २० असोजमा काठमाडौँ उत्रिएका थिए। त्यसलगतै उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

अनुसन्धानकै क्रममा प्रहरीले सोमबार सन्दीपलाई जिल्ला अदालत काठमाडौँ पुर्‍याएको थियो। उनलाई बिहान १० बजे नै अदालत पुर्‍याइएको थियो। सन्दीपका वकिल सरोज कृष्ण घिमिरेलगायतको टोली भने ९ बजे नै अदालत पुगेको थियो। सन्दीपलाई अदालत पुर्‍याएको करिब ४५ मिनेटपछि मात्रै १२ नम्बर इजालासका न्यायाधिस दण्डपाणि नेउपाने १०:४५ मा इजालासमा उपस्थित भएका थिए।

नेउपानेले इजलासमा सन्दीपलाई आफ्नो कुरा राख्न समय दिएका थिए। सो क्रममा सन्दीपले घटना विवरण प्रस्तुत गर्दै आफूलाई फसाइएको र अदालतले न्याय दिने विश्वास व्यक्त गरे। उनले आफ्नो आत्मसम्मानमा गम्भीर धक्का लागेको र नियतवस फसाइएको भन्दै उनी नाबालिगसमेत नभएको दाबी गरेका थिए।

त्यस क्रममा सन्दीपले भने, ‘मैले उजुरीकर्ताकै आग्रहमा उनलाई भेटेको हो, उनी नाबालिग पनि होइनन्। उनलाई मैले दरबारमार्गमा कफी खाएर छुटौँ भनेँ तर उनले नगरकोट घुम्न जान मन लागेको र पुगेर आउन सकिने बताइन्। मैले रात पर्छ होस्टलमा आउन ढिला हुन्छ भन्दा उनले नै आफ्नो होस्टल जुनसुकै समयमा पनि खुल्ने भएकाले पुगेर आउन भ्याइने बताइन्। त्यसपछि नगरकोट पुगेर हामी काठमाडौँ फर्कियौँ।’

सन्दीपले अदालतसमक्ष भने, ‘काठमाडौँ फर्किएपछि उनले आफ्नो होस्टल बन्द भएको भन्दै आफूलाई होटलमा राखिदिन आग्रह गरिन्। मैले टिम बसेकै होटलमा जाउँ त्यहाँ म्यानेज गर्छु भनेँ। तर उनले देव खनाललगायत अन्य क्रिकेट खेलाडीलाई पनि आफूले चिन्ने भएकाले टिम बसेको होटलमा जान अस्वीकार गरिन्।’

सन्दीपले बयानमा आफ्नो चरित्रहत्या भएको र गोपनियता कायम नराखेको भन्दै न्यायाधीश नेउपानेसमक्ष गुनासो गरेका थिए। तर न्यायाधीशले यो विषय र त्यो विषय फरक भएको भन्दै अहिले यो विषय मात्र कुरा गर्न र गोपनियताको विषय अर्कै भएको बताएका थिए।

अदालतमा प्रहरीले म्याद थपका लागि १० दिनको समय मागे पनि सन्दीपका वकिलहरुले प्रहरीले लिने बयानको प्रक्रिया लगभग सकिएकाले त्यति लामो समय नचाहिने भन्दै पक्राउ परेको म्याददेखि सात दिनको समय पर्याप्त भएको बताएका थिए। न्यायधिश न्यौपानले सोही नुसार २० गतेदेखि ७ दिनको म्याद थप गरेका थिए। अब सन्दीपलाई २७ असोजमा अदालत लगिने छ।

सन्दीपलाई सोमबार अदालतमा लगिएको र दोहोरो जन्मदर्ताको कुरा उठेको विषयमा वकिल घिमिरले भने, ‘यी विषयहरु उठेका छन्। अहिले हामी प्रमाणहरु संकलन गरिरहेका छौं। सम्पूर्ण प्रमाणहरु संकलन नभइ अहिले नै यो विषयमा बोल्नु उचित हुन्न।’ अधिवक्ता सुधा रिजालले भने अदालतबाट बाहिरिने क्रममा उजुरीकर्ताले दुईवटा जन्म दर्ता बनाएको प्रमाण आफूहरुसँग रहेको बताइन्।

उनले भनिन्, ‘स्पेसल्ली चाहिँ उहाँले दुईवटा जन्मदर्ता बनाएको देखिएको छ। पछि उहाँले जुन प्रतिलिपि लिएको छ, त्यहाँबाट के चुहावट हुन्छ भने सिलसिलाबद्व रुपले उहाँलाई फसाउनका लागि अथवा नाबालिकाहरुलाई कैद गर्नका लागि बनाएको त्यो जन्म दर्ता छ, त्यसलाई प्रुभ गर्ने डकुमेन्ट पनि हामीसँग छ, हामीले पाइसकेका छौँ।’ उनले सन्दीपको सोमबारको उपस्थिति थुनछेकको लागि भन्दा पनि म्याद थप गर्ने भएको बताएकी थिइन्। देशसंचारबाट

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।