कतार सरकारले रङ्गशाला ९७४ लाई पूर्ण रुपमा हटाउने, नेपालले पाउन सक्ने सम्भावना कस्तो छ ?

कतार सरकारले रङ्गशाला ९७४ लाई पूर्ण रुपमा हटाउने, नेपालले पाउन सक्ने सम्भावना कस्तो छ ?

कतार विश्वकपका धेरै विशेषतामध्ये एक हो- फुटबल प्रतिस्पर्धा सकिएपछि अधिकांश रङ्गशालाको दर्शक क्षमता घटाउने कतारी निर्णय।कतारका अनुसार त्यसरी क्षमता घटाउँदा रङ्गशालामा बढी भएका कुर्सीहरू आवश्यक पर्ने साना देशहरूलाई अनुदान दिइनेछ।

कतारले विश्वकपका लागि ८ वटा रङ्गशाला तयार पारेको थियो।तीमध्ये प्रतियोगितापछि एउटालाई पूर्ण रूपमा हटाउने र ६ वटा रङ्गशालाको माथिल्लो तलाका १ लाख ७० हजार कुर्सीहरू अन्य देशलाई बाँड्ने बताइएको छ। त्यस्तो अवस्थामा कतिपयले नेपालले कतारको त्यो सहयोग पाउनु उपयुक्त हुने बताइरहेका छन्।

उनीहरूका भनाइमा कतार विश्वकपका लागि रङ्गशाला निर्माणमा नेपाली कामदारको पनि योगदान भएकाले नेपालको त्यस्तो अनुदान पाउने हक रहन सक्छ।त्यस्तै नेपाली फुटबललाई रङ्गशालाको खाँचो पनि रहेकाले त्यस्तो अनुदानका लागि पहल गर्नुपर्ने कतिपयको जानकारहरूको धारणा पनि छ।

Europass CV in Nepal

कतारले ‘साना आवश्यक राष्ट्र’ लाई अनुदान दिने भनेका सिटहरू नेपालले पनि प्राप्त गर्न सक्ने चर्चा चलेको थियो।तर त्यसका लागि नेपालबाट आधिकारिक रूपमा कुनै पहल भएको थाहा हुन सकेको छैन।अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पाका अनुसार कतार फुटबल सङ्घसँग यस विषयमा धेरै पटक कुराकानी भएको थियो।

उनले भने, ” हामीले लिखित रूपमै रङ्गशाला उपलब्ध गराउन माग गर्ने कुरा पनि राख्यौँ। तर त्यो कतार सरकारको विषय भएकोले उनीहरूले पनि सम्बन्धित ठाँउमा कुरा पुर्‍याउने कुरासम्म भयो।”

विश्वकप सम्पन्न भएपछि कतारले बल्ल यस विषयमा पहल थाल्ने भएकाले समय रहेको शेर्पा बताउँछन्।नेपाली खेलकुद क्षेत्रको प्रशासकीय निकाय राष्ट्रिय खेलकुद परिषद्ले यस विषयमा पहल थाल्ने बताएको छ। परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले भने, ” यसले नेपाली खेलकुद पूर्वाधार विकासको लागि सहयोग गर्नेछ। राखेपले यससँग सम्बन्धित सबै पक्षसँग संयोजन गरेर प्रक्रिया अगाडि बढाउने छ।”

एन्फाका वर्तमान अध्यक्ष पंकज नेम्वाङले सरकारको सहयोगबाट मात्र त्यो सम्भव हुने बताए। उनले भने, ” नेपालले कतारसँग कुर्सीका लागि मात्र अनुरोध गरेर पुग्दैन। त्यसका लागि नेपाल सरकारसँग रङ्गशाला निर्माणका लागि आवश्यक जग्गाको पहलदेखि कतारको त्यो योजना कार्यान्वयन तहसम्मका सबै ठोस तहको योजना आवश्यक पर्छ।”

त्यसको निम्ति काम गर्ने बताएका सदस्य सचिव घिसिङ भन्छन्, “कतारको रङ्गशाला बनाउनमा नेपालीहरूको पनि ठूलो योगदान छ। नेपालमा त्यो रङ्गशालाको अंश आउनु भनेको नेपाली कामदारको सम्मान पनि हो।”

कतार के भन्छ?
नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैल आफ्ना समयका फुटबल खेलाडी तथा बी लाइसेन्स प्राप्त फुटबल प्रशिक्षक पनि हुन्। उनले “नेपालले पहल गरेमा” रङ्गशालाको केही अंश प्राप्त गर्न सक्ने सङ्केत गरे।

उनले भने, “केही रङ्गशालाका सिटहरू घटाइँदैछ भने रङ्गशाला ९७४ लाई पूर्ण रुपमा हटाइने भएको छ।” “ती सिटलाई फिफाको स्विकृतीमा अन्य देशलाई उपलब्ध गराइँदैछ। नेपालले पनि त्यसका लागि अनुरोध गर्न र फलोअप गर्नसक्छ।” उनले नेपालका लागि कतारको राजदूत भएका हिसाबले आफूले केही भूमिका खेल्न सक्ने तर त्यसमा नेपालको निर्णय नै प्रमुख हुने बताए। उनले भने, “यो परियोजना मुख्यत: नेपाल सरकार, कतारस्थित नेपाली दूतावासले फिफा र कतारलाई गर्ने अनुरोध र सक्रियतामा भरपर्छ।”

Europass CV in Nepal